एमाले सचिव योगेश भट्टराईलाई ताप्लेजुङ प्रवेशमा निषेध
अखबार टुडे
प्रकाशित:
२०८०, ३ असार

काठमाडौं, ३ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङ जिल्लामा प्रवेश निषेध गरिएको छ । पहिचान पक्षधरले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले सचिव भट्टराईलाई ताप्लेजुङमा प्रवेश निषेधको घोषणा गरेका हुन् ।

ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले जारी गरेको विज्ञप्तिमा पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ताप्लेजुङ जिल्लाबाट निर्वाचित हुनुभएको प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराईले संघीयसभाको औपचारिक बैठकमा दिएको गैरजिम्मेवार हिंसात्मक अभिव्यक्तिबाट देशको सिंगो पहिचानवादी राजनीतिक दल, संघ संस्था, नागरिक समुदायसँग हामी ताप्लेजुङवासी हदैसम्म दुःखित बनेका छौँ । आम जनताहरूको राजनीतिक माग, चाहना, भावना अपेक्षाहरुलाई राज्यबाट सम्बोधन गर्न गराउन संघीय सरकारमा ताप्लेजुङको तर्फबाट एक जिम्मेवार अभिभावक बनेर गहन भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा सामाजिक न्यायको आवाज उठाइरहेका आवाजहरुलाई दबाउने यस्तो अतिरञ्जित हिंसात्मक अभिव्यक्ति दिएर समुदाय–समुदायबीच भड्काउ साम्प्रदायिक हिंसा निम्त्याउने अराजक अभिव्यक्ति संघीय सभाको बैठकबाट व्यक्त गर्नुभएकोमा यो अभिव्यक्तिलाई फिर्ता लिएर आम पहिचानवादीहरुसँग सार्वजनिक माफी माग्नुपर्ने छ । अन्त्यमा प्रदेश नं. १ को कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने साथै गृह जिल्ला ताप्लेजुङमा प्रवेश निषेध घोषणा गरिने ब्यहोरा यसै जारी विज्ञप्तिमार्फत सन्देश दिन चाहन्छौँ ।’

विज्ञप्तिमा पहिचानवादी आन्दोलनकारी जनताहरूको आत्मसम्मान, भावनालाई सरकारसँग वार्तासँगै सहजीकरण गर्नुपर्ने ठाउँमा ठिक उल्टो बाटोमा एमाले अध्यक्ष र सचिव लागेको उल्लेख गरिएको छ ।

विज्ञप्ति

प्रतिक्रिया