‘आदिपुरुष’ फिल्मका लेखक भन्छन्– १९०३ अघि नेपाल भारतकै अंश थियो, त्यो हिसाबले सीता भारतकै छोरी हुन्
अखबार टुडे
प्रकाशित:
२०८०, ३ असार

काठमाडौं, ३ असार (एजेन्सी) । डायलगलाई लिएर नेपालमा मात्रै नभई भारतमा समेत विवादित बनिरहेको भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालबारे विवादास्पत बयान दिएका छन् ।

भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश भएका कारण सीता भारतकी छोरी रहेको बताएका हुन् । आदिपुरुषलाई लिएर नेपालमा भइरहेको विरोधलाई आफूले बुझ्न नसकेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालको विरोध मैले बुझ्न सकेको छैन । नेपाल भारतको अंश हुँदाको कहानी हो यो । यदि सीतालाई हामी भारतकी छोरी भन्दैछौं भने नेपाल कहाँ भारतबाट अलग्गिइसकेको थियो र ? सन् १९०३ या १९०४ तिर नेपाल भारतबाट अलग्गिएको थियो, नेपाल भारतमै थियो । त्यो हिसाबले सीता भारतकै ‘बेटी’ थिइन् । यदि नेपालीहरूलाई कुनै किसिमको चित्तदुखाइ छ र मसँग उनीहरूको कुरा हुन पायो भने जतिबेलाको यो कथा हो त्यो समयमा जानकी भारतकै छोरी थियो भनेर म सम्झाउनेछु ।’

उनले राष्ट्रको रूपमा नेपाल र भारत अहिले पनि अलग नभएको बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रको रूपमा नेपाल र भारत अहिले पनि अलग छैनन्, भलै देशको रूपमा अलग होलान्, सीमाहरु अलग भए पनि । तर राष्ट्रियताको रूपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।’

प्रतिक्रिया