‘समाजवादी मोर्चा’बारे ओलीको टिप्पणी- लिभिङ टुगेदर चलेकै छ, किन चाहियो मोर्चा ?
अखबार टुडे
प्रकाशित:
२०८०, २ असार

काठमाडौं, २ असार । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको ‘मोर्चालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘लिभिङ टुगेदर’को संज्ञा दिएका छन् ।

शनिबार नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउने मोर्चाको उद्देश्य भएको दावी गर्दै भने, ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन सँगै हिँडेका छन् । लिभिङ टुगेदर त चलेकै छ । तिनीहरूको । अनि मोर्चा के चाहियो ?’

उनले कांग्रेसलाई तर्साउन मात्र ‘समाजवादी मोर्चा’ गठन गरिएको चर्चा भइरहेको समेत टिप्पणी गरे । ‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे । समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन् । एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने’ अध्यक्ष ओलीले भने, ‘कांग्रेसलाई समाजवादी मोर्चा बनाऊँ त ? भनेर तर्साउनका लागि मात्रै गठन हुने मोर्चा बनाएर के हुन्छ ?’

अध्यक्ष ओलीले आफू कहिल्यै झुटो नबोल्ने पनि दावी गरे । आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको उनले बताउँदै भने, ‘एमालेले सहि आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्छ ।’

प्रतिक्रिया