समाजवादी मोर्चाबारे बाबुरामले भने- बाहिर चलेका हल्लाको पछि नलाग्नू
अखबार टुडे
प्रकाशित:
२०८०, १ असार

काठमाडौं, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसंगको भेटवार्तामा भट्टराईले समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा छलफल भयो ।’

उनले देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको बताएका छन्।

यस विषयमा बाहिर चलेका हल्लामा नबग्न उनले आग्रह गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चाँडै नै मोर्चा घोषणा गर्नेगरी तयारी गरेका छन्। मोर्चामा डा भट्टराई नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई समेत समाहित गर्नेगरी छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया