एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का, अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म सञ्चालन हुने
अखबार टुडे
प्रकाशित:
२०८०, ३२ जेष्ठ

काठमाडौं, ३२ जेठ । भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कप अन्ततः पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको छ । एसीसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप २०२३ हुने जनाएको हो ।

हाइब्रिड मोडलमा हुन लागेको एकदिवसीय एसिया कपका चार खेल पाकिस्तान र बाँकी नौ खेल श्रीलंकामा हुने विज्ञप्तिमा उल्लेख छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हुनेछन् ।

सहभागी टीमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले ‘सुपर फोर’मा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टीमले फाइनल यात्रा तय गर्नेछन् । नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । यस्तै अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको हो । गत वर्ष यूएईमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गरेको श्रीलंका प्रतियोगिताको साविक विजेता हो ।

प्रतिक्रिया