पत्रकारलाई देशबाट निकाल्ने होड- अब भारत र चीनमा हुने छैनन् एकअर्का देशका पत्रकार
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ (एजेन्सी) । पछिल्ला केही वर्षयता भारत र चीनबीच एकअर्का देशका पत्रकारलाई देशबाट निकाल्ने होड चलेको छ । चीनले आफ्नो देशमा बाँकी रहेका एक भारतीय पत्रकारको भिसा नथप्ने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘जस्तालाई त्यस्तै व्यवहार अपनाएको’ भन्दै ती पत्रकारलाई यसै महिनाको अन्तिमसम्ममा देश छाड्न पनि आदेश दिएका छन् । वेनबिनले भारतमा चिनियाँ पत्रकारलाई अनुचित र भेदभावपूर्ण व्यवहार गरिएको पनि बताएका छन् ।

भारतीय मिडियाहरूका अनुसार न्युज एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का एक जना भारतीय पत्रकार मात्रै यतिबेला चीनमा छन् । उनको भिसा अवधि जुनमा सकिँदै छ । उनी भारत फर्किएपछि चीनमा कोही पनि भारतीय पत्रकार हुने छैनन् ।

अहिले भारतमा पनि चीनका एक मात्र पत्रकार बाँकी छन् । प्रवक्ता वेननिबनका अनुसार उनको पनि भिसा अवधि थपिएको छैन । सन् २०२० यता भारतले चिनियाँ पत्रकारहरूको भिसा अवधि नथप्दा चीनले पनि जस्तालाई त्यस्तै नीति अपनाएको चीनको भनाइ छ ।

सन् २०२० को जुन १५ मा विवादित क्षेत्र गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएयता भारतले चिनियाँ पत्रकारहरूको भिसा अवधि थप्न अस्वीकार गरिरहेको हो । सो झडपमा २० भारतीय सेना र ५ चिनियाँ सेनाको ज्यान गएको थियो ।

वास्तवमा यी पत्रकारहरू दुवै देशबीच चर्किँदो भूराजनीतिक विवादको शिकार बनेका हुन् । अब भारतले पनि आफ्नो देशमा बाँकी रहेको अन्तिम चिनियाँ पत्रकारलाई चीन नै फर्कादिने अनुमान गरिएको छ ।

प्रतिक्रिया