
काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन् ।
उनले भने, ‘समाजवादी मोर्चाको दस्ताबेज टुङ्गाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधरहरू छन् । उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ ।’
विगतमा नेकपा एमालेसँग एकता गरेर नेकपा बनाए पनि सफल नभएको भन्दै उनले फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए । ‘हिजोको एकता कायम राख्न सम्भव भएन । फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । एकताका लागि पहल गर्नुपर्नेछ ।’
जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने भन्दै उनले त्यसका लागि सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउने बताए ।
