सरकार छोड्न परे परोस् तर भ्रष्टाचारीलाई उन्मुक्ति दिँदैनौं : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डले समानुपातिक विज्ञापन वितरण प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो ।

सोही टोलीसँग प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारकाविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताएका हुन् । उनले भ्रष्टाचारीलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको समेत बताए ।

उनले भने, ‘हामी सत्ता स्वार्थकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिने पक्षमा छैनौं । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचारविरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय, पद्धति, परम्परा, मूल्य सबै नाघेर दुःख दिने नियतले अघि बढेको बताएका छन् ।

ऊर्जा व्यापार, पारवहन आदि सम्झौताका दृष्टिले भारत भ्रमण सफल हुँदाहुँदै १५ वटा भैंसी ल्याएको भन्नेजस्ता गैरराजनीतिक टिप्पणी गरेर केपी ओली नग्न रूपमा प्रकट भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

सदनमा विपक्षीको गतिविधि देख्दा र सरकारले गरेका सकारात्मक कामको प्रभावकारी प्रचार नहुँदा प्रधानमन्त्रीले सदनमा एक्लो महसुस हुने पनि बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले पुराना संकथन मेटाएको दाबी गरेका थिए ।

प्रतिक्रिया