सावित्रा भण्डारीले युरोपेली लिग खेल्ने
अखबार टुडे
प्रकाशित:
२०८०, ३० जेष्ठ

काठमाडौं, ३० जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् ।

क्लबले मंगलबार सामाजिक संजालमार्फत सावित्रालाई २०२३/२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको बताएकी छन् । उनले यसलाई आफ्नो खेल करियरको अर्को महत्वपूर्ण स्टेपको रुपमा लिएकी छन् र यसले नेपाली महिला फुटबलको चर्चा युरोपसम्म हुने बताएकी छन् ।

साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल खेल्दा ४३ गोल गरिसकेकी छन् । साबित्राले घरेलु फुटबल एपीएफ क्लबबाट खेल्ने गर्छिन् । साबित्रा भारतमा हुने महिला लिगमा लगातार तीन सिजन च्याम्पियन बनेकी छन् ।

पहिलो सिजन सेथु फुटबल क्लबबाट खेल्दा साबित्राले ७ खेलमा १५ गोल गरेकी छन् । दोस्रो र तेस्रो सिजन गोकुलम केरेलाको प्रतिनिधित्व गर्दै उनले कुल ४५ गोल गरेकी छन् । उनी अघिल्लो महिना मात्रै सम्पन्न भारतिय महिला लिगको सर्वाधिक गोल कर्ता पनि हुन् ।

प्रतिक्रिया