मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न त्रिविको आह्वान
अखबार टुडे
प्रकाशित:
२०८०, ३० जेष्ठ

काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयले आपसमा मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ । त्रिविले आज सूचना निकालेर पूर्ण रुपले एक आपसमा गाभिई समायोजन हुन चाहने क्याम्पसहरुलाई असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो ।

‘नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्णरूपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा ती क्याम्पसहरूले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराइ २०८० आषाढ मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सम्बन्धित सबै इच्छुक क्याम्पसहरूलाई सूचित गरिन्छ,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ ।

मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्नुपर्नेछ । साथै समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ ।

त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् । त्रिविबाट सम्बन्धन पाएका कतिपय आङ्गिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले सङ्कटमा परेका छन् । त्रिविका ५ सय २९ सामुदायिक क्याम्पस छन् । सबैधन्दा धेरै यी क्याम्पसमा विद्यार्थीको अभाव छ ।

प्रतिक्रिया