महिला इमर्जिङ टिम्स कप : नेपाल पाकिस्तानसँग ९ रनले पराजित
अखबार टुडे
प्रकाशित:
२०८०, ३० जेष्ठ

काठमाडौं, ३० जेठ । हङकङमा जारी एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ’ए’ टोलीसँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सकेको हो ।

नेपालका कविता कुँवरले २० रन बनाइन् भने कविता जोशी १५ रनमा अविजित रहिन् । त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनायो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ‘ए’ टोली हो । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ ।

नेपालले अब बिहीवार समूहको दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग खेल्नेछ । समूहको अन्तिम खेलमा शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।

प्रतिक्रिया