नेपाल एयरलाइन्सद्वारा क्वालालम्पुर–भैरहवा व्यावसायिक उडान सुरु
अखबार टुडे
प्रकाशित:
२०८०, ३० जेष्ठ

काठमाडौं, ३० जेठ । नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मंगलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो ।

न्यारोबडी जहाज मंगलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसअघि विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइड बडी जहाजबाट नै सुरु भएको थियो । २०७९ को जेठ २ गते कुवेतको जजिरा एयरको उडानसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो ।

निगमले मंगलबार र शनिबार गरी २ वटा उडान गर्ने छ भने काठमाडौं–क्वालालम्पुर–गौतमबुद्ध विमानस्थल–काठमाडौं उडान गर्न लागेको जनाएको छ । निगमको पहिलो उडानको नेतृत्व वरिष्ठ क्याप्टेन दिपु जुवार्चनले गरेका छन् । पहिले उडानमा ९१ जना यात्रु मध्ये ३१ जना भैरहवा र ६० जना काठमाडौँ जानेछन् ।

यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एयरलाइन्सले भने उडान बन्द गरिसकेका छन् । हिमालयले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर ४५ दिनसम्म नियमित उडान गरेको थियो । तर यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो । हिमालयले भने कात्तिक २७ गतेबाट उडान सुरु गरेको थियो ।

प्रतिक्रिया