प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेको उजुरीमाथि जेठ ३२ गते सुनुवाइ
अखबार टुडे
प्रकाशित:
२०८०, २९ जेष्ठ

काठमाडौं, २९ जेठ । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको सुनुवाइ आउँदो बिहीवार अर्थात जेठ ३२ गते हुने भएको छ । सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते गर्ने र त्यसै दिन त्यो प्रस्तावलाई अनुमोदन गर्नेलगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।

कार्यतालिकामा उजुरीकर्ताहरूसँग छलफलका लागि जेठ ३० गते बुधवार बिहान ११ बजेको समय तोकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ गर्ने र त्यो प्रस्ताव अनुमोदन गर्नेलगायतका सचिवालयको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए ।

गएको वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि २९ वटा उजुरी परेको र त्यो उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई दिइएको छ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया