काठमाण्डौं उपत्यकाको पहाडमा १ सय ९८ वटा पोखरी बनाइने
अखबार टुडे
प्रकाशित:
२०८०, २९ जेष्ठ

काठमाण्डौं, २९ जेठ । काठमाण्डौं उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने भएको छ । उपत्यकामा बाग्मती र त्यसका सहायक नदी सफा बनाउनका लागि पहाडमा १ सय ९८ वटा पोखरी बनाइने भएको हो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बर्खामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।

अहिले उपत्यकाका नदीमा बर्खामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरूपमा सुक्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए । उनले भने, ‘नदी पूर्णरूपमा सुक्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।’

गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न ठाउँमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी बर्खामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए ।

बाग्मती कोरिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बाग्मती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ ।

बाग्मती सफा गर्नका लागि ठोसमात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ ।

बाग्मतीमा ढल निर्माण भए पनि त्यसमा मिसिने अरू खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए । बाग्मतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बाग्मती सफा नहुने देखिएको छ ।

समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ । समितिले बाग्मतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र कोरिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ ।

बाग्मती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र विस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो । पशुपति क्षेत्रको वातावरण सुधारका लागि विसं २०५१ चैत २८ गते यसको स्थापना भएको थियो ।

सुरुमा कार्यान्वयन र अनुगमन समितिका रूपमा स्थापना भएकोमा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो ।

प्रतिक्रिया