अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री महत
अखबार टुडे
प्रकाशित:
२०८०, २९ जेष्ठ

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ ले आज बिहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रबिन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका हुन् ।

‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ’, उनले भने । निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उहाँको भनाइ छ ।

अर्थमन्त्री डा. महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे । ‘हाम्रा आकाङ्क्षाहरू धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ’, उनले भने ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताए । पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उनको भनाइ थियो ।

उहाँले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताए । पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उहाँको भनाइ छ । व्यक्ति पार्टीभन्दा ठुलो बन्न नसक्ने डा महतले बताए ।

प्रतिक्रिया