सीतापाइलामा खुल्यो ‘द पोश आउटफिटर्स’ क्लोथिङ ब्राण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । सितापाइलास्थित अनुपम मलमा ‘द पोश आउटफिटर्स’ क्लोथिङ ब्राण्ड सञ्चालनमा आएको छ । रिङरोडस्थित सितापाइलादेखि रामकोट जाने मोडमा रहेको अनुपम मल तयारी भएसँगै द पोश सञ्चालनमा आएको हो ।

‘द पोश आउटफिटर्स’को शनिबार एक समारोहबीच नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राई संयुक्त रुपमा उद्घाटन गरेका छन् । सोही अवसरमा उनीहरुले ‘मोमो माण्डु’को पनि उद्घाटन गरेका थिए ।

‘द पोश आउटफिटर्स’ र ‘मोमो माण्डु’को सञ्चालक हुन्, फेसन डिजाइनर नेना राई । नेनाले यसअघि काटमाडौंको भाटभाटेनी नजिक ‘द पोश आउटफिटर्स’ सञ्चालन गरेकी थिइन् । अहिले आएर उनले सीतापाइलामा नयाँ साजसज्जासहित ‘द पोश आउटफिटर्स’ सञ्चालनमा ल्याएको नेनाले जानकारी दिइन् ।

फेसन डिजाइनर एवं सञ्चालक नेनाले भनिन्, ‘फेसन डिजाइनिङको कोर्ष सक्नेवित्तिकै द पोश आउटफिटर्स’ सञ्चालनमा ल्याएकी थिएँ । त्यही पोशलाई अहिले अनुपम मलमा सुरु गरेकी हुँ ।’ उनले ‘द पोश आउटफिटर्स’ आफ्नो क्रियशनमा एक नयाँ क्लोथिङ ब्राण्ड भएको बताउँदै भनिन्, ‘आफ्नै क्लोथिङमा आफ्नै ब्राण्ड बनाऊँ भनेर ‘द पोश आउटफिटर्स’ सुरु गरेकी हुँ ।’

‘द पोश’ र ‘मोमो माण्डुको उद्घाटनपछि गायिका मेलिना राईले भनिन्, ‘नेपाली फेसन बजारमा नयाँ सोच र अवधारणासहित द पोश थपिएकामा ख्ुसी लाग्यो किनकि हामी सेलिब्रेटी एवं कलाकारका लागि सधै नयाँ नयाँ पहिरन आवश्यक पर्छ ।’ उनले पछिल्लो समय नेपालीहरु पनि फेसन कन्सस हुन थालेको बताउँदै भनिन्, ‘द पोशले फेसन पारखीका इच्छा र रहर पूरा गर्ने छ भन्नेमा मलाई विश्वास छ ।’ साथै, उनले नेनालाई व्यवसायी सफलताको समेत शुभकामना दिइन् ।

यस्तै, मेयर बस्नेतले आफ्नो नगरमा नयाँ मल थपिएकामा खुसी व्यक्त गर्दै कर छुटको समेत व्यवस्था गर्ने घोषणा गरे । शनिबारदेखि नै औपचारिक रुपमा सञ्चालनमा आएको अनुपम मलबारे उनले भने, ‘यो मेरो नगरभित्र पर्छ । यहाँको व्यवसायीलाई प्रोत्साहित गर्नु मेरो कर्तव्य हो ।’

सोही क्रममा उनले व्यवसायीलाई ५० प्रतिशतसम्म कर छ्ुट दिने प्रतिवद्धता जनाए । ‘कोभिड महामारीबाट थलिएको व्यवसायी भर्खरै तंग्रिँदैछ’ उनले भने, ‘यस्तो अवस्थामा पनि नयाँ मल र नयाँ व्यवसायीले व्यापारमा हात हालिरहनुभएको छ । यहाँहरुलाई म यो नगरको प्रमुख भएको नाताले प्रोत्साहित गर्न ५० प्रतिशतसम्म कर छुट गर्ने व्यवस्था गर्नेछु ।’
फेसन डिजाइनर नेना राईले आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर, बागबजारबाट फेसन डिजाइनिङमा डिप्लोमा गरेकी हुन् । आईआईएफटीबाट उउत्पादित फेसन डिजाइनरहरुले काठमाडौंलगायत देशका विभिन्न सहरमा बुटिक र क्लोथिङ स्टोर सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया