युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता
अखबार टुडे
प्रकाशित:
२०८०, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टलेलगायतले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ । उनीहरुले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै दुबै नेतालाई कारबाही अघि बढाउन माग गरिएको छ ।

यस्तै, प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत माग गरिएको छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

प्रतिक्रिया