देशभर शिक्षालयका कर्मचारीद्वारा थाल ठटाएर प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०८०, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । देशभरका विभिन्न शिक्षालयका कर्मचारीहरुले काठमाडौंको माइतीघर मण्डलमा आइतबार प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा उनीहरुले थाल, घन्टी लगायतका भाँडाकुडा ठटाउँदै प्रदर्शन गरेका हुन् ।

परिषद् आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धिलगायत माग राखि केही सातादेखि आन्दोलन गर्दै आएका छन् । विद्यालयका शिक्षकहरु पनि उनीहरुलाई साथ दिँदै आन्दोलनमामा सहभागी थिए ।

उनीहरुले शिक्षा क्षेत्रको समस्याहरु समाधान गर्न आवश्यक संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ खोई ?, श्रम शोषण बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका हुन् । सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिएको तर बजेटमा त्यस कुरा नआएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एक वर्षदेखि निरन्तर आन्दोलनरत छन् । उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ । केही स्थानीय तहले मात्रै विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन् ।

प्रतिक्रिया