एमालेलाई गृहमन्त्रीको आश्वासन : पहिचानको नाममा अराजकता मच्याउने छुट कसैलाई छैन
अखबार टुडे
प्रकाशित:
२०८०, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा अराजकता मच्याउने छुट कसैलाई नभएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद्हरुले कोशी प्रदेश नामाकरणको विरोध गर्नेहरुले आफ्ना नेतामाथी आक्रमण गरेको भन्दै विरोध गरेका थिए ।

सो घटनामा सरकारकै समर्थन रहेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेका थिए । सो विषयमा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, अराजक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट नदिने बताएका हुन् ।

उनले भने, ‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन् । उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरी विरोध गर्न पाउँछन् । अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, अराजक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन ।’

प्रदेशको नामकरण सम्बन्धित प्रदेशको अधिकार क्षेत्र भएको र पहिचानका पक्षधरले पहिचानका आधारमा नामकरण हुनुपर्ने आवाजलाई वैचारिक र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक वार्ताका माध्यमबाट समस्यालाई समाधान गर्न सुझाव दिए ।

उनले आन्दोलन र बलिदानबाट आएको लोकतन्त्र, संविधान र सङ्घीयतालाई चुनौती दिने कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै अराजक, उदण्ड र गैह्रकानुनी कामलाई प्रोत्साहन नदिन सरकार प्रतिबद्ध रहेको सुनाए ।

प्रतिक्रिया