काठमाडौं, २६ जेठ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै पास हुन नदिने बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने बताएका हुन् ।
उनले भने, ‘यही अवस्थामा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’
उनले ११० करोड डडेल्धुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिए ।
उनले असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने जनाउदै यथास्थितिमा बजेट पास गर्न नदिने बताए । त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको उनले बताए ।
उनले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन ।’
