ओलीको दाबी- कोशी नामकरणविरुद्धको आन्दोलनमा प्रचण्डको प्रत्यक्ष संलग्नता छ
अखबार टुडे
प्रकाशित:
२०८०, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एकीकृत समाजवादी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले प्रचण्डहरुले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए ।

उनले भने, ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ । नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा ।’

उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरू भइरहेको दाबी गरे । उनले भने, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । कहिले बन्द भनेकोे छ, कहिले तोडफोड, कहिले अनेक छ । सरकार केही गर्दैन । प्रहरीलाई केही नगर्नु भनेको छ । अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेका छन् । गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले ।’

यस्तो कार्यमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको ओलीले आरोप लगाए । अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर पहिचानको विष फैलाउने कोसिस गरे पनि सफल नबनेको बताए । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे ।

उनले आज मात्रै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजिउको दाबी गर्दै पहिचानको नाममा हत्या प्रयास भइरहेको बताए । पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहेको बताउँदै ओलीले आफ्नो पार्टी सरकारको यसप्रकारको रवैयासँग नडराउने समेत बताए ।

उनले भने, ‘यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन नो कम्परमाइज । नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि । नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो । गैर किराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त । अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन ।’

प्रतिक्रिया