भारत भ्रमणबारे कनीकुथी विरोधको तरिका अपनाउनु उचित होइन : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथी विरोधको तरिका अपनाउनु उचित नभएको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

उनले भने, ‘भारत भ्रमणमा उत्पात भयो भन्ने मेरो दाबी होइन । नयाँ सुरुआत भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ । हामी सबैले एक भएर भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन होऊन् र हुन बाँकी सहमति पनि बनाउन प¥यो भन्नुपर्छ । त्यसो भन्यो भने पनि नेपाल बलियो हुन्छ, हामी बलियो हुन्छौं । यसमा अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथी विरोधको तरिका अपनाउनु उचित छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहो¥याए । बरु बङ्गलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उनको स्पष्टीकरण थियो ।

प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालका लागि ठुलो कुरा भएको बताए ।

उनले आफूले भारत भ्रमणको क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दाबी समेत गरे । प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणको क्रममा खर्बौँको लगानी भित्र्याउने गरी सहमति गरेको जिकिर गरे ।

भारत भ्रमणका क्रममा १९५० को सन्धीदेखि हालका सीमा विवादका विषयमा प्रस्टसँग छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले दुवै मुलुकबीच छलफलको वातावरण बनाएर अगाडि बढ्नुपर्नेमा आपसी बुझाइ रहेको बताए ।

प्रधानमन्त्री दाहालले मिडियामा भारतीय संसद्मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि राष्ट्रिय सभामा बताएका छन् । प्रधानमन्त्री प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको तर सम्वाद नै भएन भन्नु गलत भएको उनले बताए ।

प्रतिक्रिया