कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन
अखबार टुडे
प्रकाशित:
२०८०, २४ जेष्ठ

विराटनगर, २४ जेठ । कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्दै आएका पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो । समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरूको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियो ।

प्रतिक्रिया