करिम बेन्जिमा साउदी क्लब अल इतिहादमा अनुबन्धित
अखबार टुडे
प्रकाशित:
२०८०, २४ जेष्ठ

काठमाडौं, २४ जेठ (एजेन्सी) । फ्रान्सेली फरवार्ड करिम बेन्जिमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जिमाले रियल मड्रिडबाट बाहिरिएपछि केही दिनमै इतिहादसँग तीन वर्षको सम्झौता गरेका हुन् ।

उनी मोटो रकममा अल इतिहादमा अनुबन्धित भएको बुझिएको छ । समझौतापछि बेन्जेमाले नयाँ चुनौती थपिएको बताए । उनले भनेका छन्, ‘यो राम्रो लिग हो र त्यहाँ धेरै राम्रा खेलाडीहरू छन् । म युरोपमा जस्तै जित्नको लागि यहाँ आएको हुँ । नयाँ चुनौती र परियोजनाको लागि सही समय हो जस्तो लाग्छ ।’

बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् । रियलमा ४ सय ५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी पनि साउदी क्लबमा अनुबन्ध हुन सक्ने चर्चा छ ।

प्रतिक्रिया