मुकुन्दलाई देखाएर एमालेले हटायो ७० वर्षे उमेर हद, ओलीलाई सहज
अखबार टुडे
प्रकाशित:
२०८०, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । नेकपा एमालेले पार्टीको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य हुन लगाएको ७० वर्षे उमेर हद निलम्बन गरेको छ । १९ जेठ बसेको सचिवालय बैठकले पार्टीको कार्यकारी कमिटीमा पदाधिकारी वा सदस्य हुन ७० वर्ष नपुगेको हुनुपर्ने व्यवस्था निलम्बन गरेको हो ।

तत्काललाई नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन सो प्रावधान निलम्बन गरिएको भनिए पनि एमालेले विधान महाधिवेशनमा लगेर उमेर हद हटाउने तयारी गरेको बताइएको छ । एमालेको उमेर हदको यो निर्णयसँगै ओलीसहित नेताहरू एघारौं महाधिवेशनबाट विदा हुनबाट जोगिन सक्ने अवस्था देखिएको छ ।

एमालेको ७० वर्षे उमेर हद एकीकृत समाजवादी छोडेर एमाले फर्किएका मुकुन्द न्यौपानेका लागि बाधक थियो । एमालेमै लामो राजनीतिक जीवन विताएका न्यौपाने एक वर्षअघि माधव नेपालसँग एकीकृत समाजवादीमा लागेका थिए ।

अहिले माधव नेपाललाई छोडेर उनी एमालेमै फर्किएका उनी ७४ वर्ष उमेर पुगेका कारण केन्द्रीय सदस्य मनोनित हुन त्यही व्यवस्था बाधक थियो । त्यसैलाई बहाना बनाएर एमालेले अध्यक्ष केपी ओलीको चाहनाअनुसार उमेर हदको व्यवस्था हटाएको हो । एमालेले मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

एमालेले आठौं महाधिवेशनबाट सुरु गरको ७० वर्षे उमेर हदले दोस्रो पुस्ताका नेतालाई ढोका खोल्ने अवसरमात्र थिएन, संगठनलाई चलायमान र नेतृत्व हस्तान्तरणको सहज मार्ग बनेको थियो । ओली ७० वर्षे उमेर हदको विपक्षमा बुटवलको आठौं महाधिवेशनमै उभिएका थिए । त्यतिबेला ओली पार्टी संगठनमा बहुमतमा थिएन ।

काठमाडौंको नवौँ महाधिवेशनमा पनि ओलीले असहमतिकिो संकेत गरेका थिए । दसौँ महाधिवेशन अघि नै विधान महाधिवेशनबाट ७० वर्षे उमेरको व्याख्या ओली अनुकूल गरिएका कारण समस्या थिएन । तर, एघारौं महाधिवेशनमा उमेर हद बाधक हुने निश्चित थियो । त्यतिबेलाको तगारो अहिले नै हटाउन ओली सफल देखिएका छन् ।

प्रतिक्रिया