अर्थमन्त्री महतले भने– इमान्दारितामा एक इन्च रौँ पनि हल्लेको छैन
अखबार टुडे
प्रकाशित:
२०८०, २३ जेष्ठ

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गरे ।

अर्थमन्त्री महतले अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको जानकारी पनि दिए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए ।

उनले मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे । उनले इमान्दारिता कायम राखेकाले स्वास्थ्य समूहहरू निजी स्वार्थ भएकाहरू पछि लागेको बताए । अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न प¥यो भन्ने भाष्य बनाएर नियोजित रूपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै उनले प्रश्न गरे ।

अर्थमन्त्रीले जिम्मेवारीमा बसेकाहरू सबै असत्य, झुटा र असत्य काम गर्न बसेको भन्नेकुरा हुन नसक्ने बताए । उनले कसैले लेखिदियो त्यो चाहिँ सत्यमाथि सत्य भयो भन्ने तर्क गरे । उनले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शङ्का नगर्न आग्रह गरे ।

अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरूले नै निर्णय गरेको बताए । उनले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रूपमा लिएको स्वीकार गरे । उनले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेको दाबी गरे । उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताए ।

प्रतिक्रिया