प्रधानमन्त्रीको भारत भ्रमण १५ वटा राँगा ल्याउनुबाहेक अरु उपलब्धि भएन : ओली
अखबार टुडे
प्रकाशित:
२०८०, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि भनेको १५ वटा राँगा ल्याउनु मात्रै भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको बताए । उनले भने, ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ । अरु कुन चाहिँ के प्रोजेक्ट छ ? ।’ प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको ओलीले बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरे । उनले भने– ‘पराराष्ट्रमन्त्री कता छ थाहा छैन, अर्थमन्त्री कहाँ छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । प्रधानमन्त्रीको छेउमा उहाँको छोरी देखिन्छिन् । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन परिवारको सदस्य राख्नुभएको छ । यस्तो भ्रमणलाई त्यस्तो भद्रगोल गर्नुहुँदैन, त्यहाँ त परराष्ट्रमन्त्री हुनुपर्छ । त्यहाँ मन्त्रीहरु, परराष्ट्र सचिव, शिष्टाचार महापाल हुनुपर्छ । त्यहाँ अफिसियल नोट लेख्ने मान्छे हुनुपर्छ । यो त पारिवारिक भ्रमण हो कि ? धार्मिक हो कि ? पर्यटकीय हो कि ? तिर्थाटन हो कि ? कहिँ हेर्यो पारिवारिक भ्रमण हो कि जस्तो देखिन्छ ।’

प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । ‘बंगलादेशको बाटोसँग, लिम्पियाधुरा–लिपुलेक साट्ने कुरा आएका छन्। म के सम्झाउन चाहन्छु भने बंगलादेश जाने बाटो अथवा पारवहनको बाटो सट्टापट्टाको विषय होइन । त्यो अधिकारको विषय हो,’ ओलीले भने,‘यो सट्टापट्टाको विषय हुन सक्दैन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीकै कारण परिस्थिति तरंगित भएको पनि बताएका छन् । ‘देश उत्साही हुनुपर्नेमा देश तरङ्गित हुनुपर्ने कारण बनेको छ प्रधानमन्त्रीको भारत भ्रमण। यसले देशलाई तरङ्गित बनाएको छ। एउटा अविश्वासको, आशंकाको स्थिति बनाएको छ । यो खासमा प्रधानमन्त्रीज्यूकै अभिव्यक्तिले। उहाँले बोलेका भिडियो छँदैछन्,’ ओलीले भने ।

प्रतिक्रिया