अफगानिस्तानमा ८० बालिकालाई विष दिइयो
अखबार टुडे
प्रकाशित:
२०८०, २२ जेष्ठ

काठमाडौं, २२ जेठ (एजेन्सी) । अफगानिस्तानको उत्तरी इलाकामा दुई वटा प्राथमिक स्कुलका ८० छात्रालाई विष दिइएको छ । सबैलाई अस्पताल भर्ना गरिएको छ । इलाकाका शिक्षा अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् ।

अगस्ट सन् २०२१ मा तालिबान सत्तामा आएपछि यस्तो घटना पहिलो पटक भएको हो । तालिबानले पहिले नै देशमा बालिकालाई ६ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाइसकेको छ ।

जुन स्कुलमा छात्रालाई विष दिएको थियो, ती अफगानिस्तानको सर–ए–पुल प्रान्तमा छन् । यी दुई स्कुल आसपास छन् । एकपछि अर्को गर्दै यी स्कुललाई निशाना बनाइएको हो ।

छात्रालाई षड्यन्त्र गरेर विष दिइयो
सर–ए–पुलको एजुकेसन डिपार्टमेन्टका अधिकारीले आफूहरूले घटनाबारे छानबिन गरिरहेको बताए । छात्रालाई कसरी विष दिइयो भन्ने जानकारी छैन । सुरुवाती अनुसन्धानमा यो कसैको षड्यन्त्रजस्तो लागेको अधिकारी बताउँछन् । कसैले तेस्रो पक्षमार्फत उनीहरूलाई विष दिएको पनि अधिकारीले जानकारी दिएका छन् । विष दिइएका छात्राहरू एकदेखि ६ कक्षामा अध्ययनरत छन् ।

अफगानिस्तानमा सन् २०१५ मा पनि यस्तै घटना भएको थियो । त्यति बेला हेरात प्रान्तमा स्कुलका ६ सय छात्रालाई विष दिइएको थियो । त्यति बेला कुनै पनि सङ्गठनले यसको जानकारी लिएको थिएन । यद्यपि, त्यति बेला थुप्रै मानवअधिकार सङ्गठनले तालिबानलाई घटनाका लागि जिम्मेवार बताएको थियो ।

प्रतिक्रिया