आज विश्व वातावरण दिवस, प्लास्टिकजन्य प्रदूषण रोकथाममा जोड
अखबार टुडे
प्रकाशित:
२०८०, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।

प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । तर, यो कार्यान्वयन भने हुन सकेको छैन ।

यसैबीच, दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। उहाँले सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाइ नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनु पर्नेमा जोड दिएका छन् । उनले विकासलाई वातावरणमैत्री बनाउन आवश्यक भएको पनि बताएका छन् ।

प्रतिक्रिया