काठमाडौं, २१ जेठ (एजेन्सी) । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले क्लब छाडेका छन् । ३५ वर्षीय चर्चित फ्रान्सेली स्ट्राइकर बेन्जेमाले सिजनको अन्त्यमा क्लब छाडेको रियल मड्रिडले पुष्टि गरेको हो ।
बेन्जेमाको बिदाइ समारोहमा मङ्गलवार विशेष कार्यक्रम राखिएको क्लबले जनाएको छ । क्लबले बेन्जेमाको रियल बसाइलाई अविस्मरणीय भनी उल्लेख गरेको छ । ‘महान् खेलाडी बेन्जेमाको रियल बसाई धेरै अर्थमा महत्त्वपूर्ण रह्यो । उहाँले हाम्रो क्लबमा बिताएको क्षण अविस्मरणीय छ,’ रियलले भनेको छ ।
बेन्जेमा सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थिए । रियलमा आबद्ध हुँदा उनको उमेर केवल २१ वर्ष थियो । क्लबका लागि १४ सिजन खेल्दा उनले रियललाई २५ वटा महत्त्वपूर्ण उपाधि जिताएका थिए । यो आफैमा कीर्तिमान पनि हो ।
बेन्जेमाले रियल म्याड्रिडलाई पाँचवटा युरोपियन कप, पाँचवटा क्लब विश्वकप, चारवटा युरोपियन सुपर कप, चारवटा स्पेनिस ला लिगा, तीनवटा कोपा डेल रे र चारवटा स्पेनिस सुपर कपको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । उनले सन् २०२२ मा बालेन जिओर पनि जितेका छन् ।
सिजनको अन्त्यमा उनको क्लबसँगको सम्झौता पनि सकिनेछ । बेन्जेमालाई साउदी अरेबियाबाट प्रस्ताव आएको दाबी गरिएको छ । यस हप्ताको सुरुमा बेन्जिमाले अल इतिहाद जाने योजना बनाएका बताइएको थियो । उनलाई अल इतिहादबाट दुई वर्षका लागि ४३९ मिलियन डलरको प्रस्ताव आएको बताइएको थियो ।