एमाले, रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, २१ जेष्ठ

काठमाडौं, २१ जेठ । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।

आज (आइतबार) बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि आइतबार पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक संसद बैठकको प्रक्रियामा नल्याई विधेयक प्रमाणीकरण गरेको, रेशम चौधरीलाई आममाफी र लिपुलेक–लिम्पियाधुरासहितको भूभाग बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग साटफेर गर्न सकिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरूद्ध गरेका हुन् ।

प्रतिक्रिया