अझै केही दिन गर्मी बढ्ने, असार पहिलो हप्ता मात्रै मनसुन भित्रिने
अखबार टुडे
प्रकाशित:
२०८०, २१ जेष्ठ

काठमाडौं, २१ जेठ । यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

सामान्यतया भारतमा जुन १ तारिखमा मनसुन भित्रने गरेको थियो । तर, यसपालि जुन ४ तारिख हुँदा सम्म मनसुन भित्रिएको छैन । उनका अनुसार भारतमा मनसुन भित्रिएको दुई÷तीन दिनपछि बल्ल नेपालमा मनसुन आउँछ । यसपालि मनसुन भित्रिँदा असार लाग्ने सम्भावना रहेको उनको भनाइ छ ।

सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रने गर्छ । तर यो मितिमा हरेक वर्ष जस्तो तलमाथि हुने गरेको छ । केही वर्ष छिट्टै र केही वर्ष ढिलो गरी मनसुन भित्रने गरेको सरकारी तथ्याङ्क छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको समय मानिन्छ । यसपालिको मनसुनमा सरदर भन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

यसैबीच तत्काल पानी पर्ने सम्भावना नभएकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ । तापक्रम लगातार ४० डिग्री सेल्सियस भन्दा माथि रहेकाले उखरमाउलो गर्मी छ ।

तराई मधेसमा तातो हावा चल्ने र लू लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । तराई मधेससँगै पहाडी जिल्लामा पनि गर्मी बढेको छ ।

प्रतिक्रिया