मेसी, बेन्जेमा र मोड्रिचजस्ता प्रभावशाली खेलाडीलाई साउदी लिगमा स्वागत गर्न आतुर छु : रोनाल्डो
अखबार टुडे
प्रकाशित:
२०८०, १९ जेष्ठ

काठमाडौं, १९ जेठ (एजेन्सी) । चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले मेसीलगायतका प्रभावशाली खेलाडीलाई साउदी लिगमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार मेसी, बेन्जेमा र मोड्रिचजस्ता प्रभावशाली खेलाडीलाई साउदी ब्यवसायिक लिगमा स्वागत गर्न आतुर रहेको ३८ वर्षीय रोनाल्डोले बताएका हुन् ।

उनले भनेका छन्, ‘साउदी ब्यवसायिक लिग निकै स्तरीय छ । तर, यसलाई अझ स्तरीय बनाउन विश्वका चर्चित र प्रभावशाली खेलाडीलाई भित्र्याउनु आवश्यक छ । मेसी, बेन्जेमा र मोड्रिचजस्ता प्रभावशाली खेलाडीलाई साउदी ब्यवसायिक लिगमा स्वागत गर्न हामी आतुर छौं ।’ रोनाल्डोले भौतिक पूर्वाधार र प्रविधिमा पनि सुधार गर्नु आवश्यक रहेको पनि बताएक छन् ।

पछिल्लो समय अर्जेन्टिनी स्टार लियोनल मेसी, फ्रान्सका करिम बेन्जेमा र क्रोएसियाका लुका मोड्रिचजस्ता चर्चित अनुहार साउदी अरेबियाको लिगमा आबद्ध हुने चर्चा छ ।

अर्जेन्टिनी स्टार मेसीले पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्ने निश्चित भएको छ । पीएसजी छाडेपछि ३५ वर्षीय मेसी पनि साउदी क्लबमै आबद्ध हुने चर्चा सुरु भएको छ । यसका लागि मेसीका प्रतिनिधिले साउदी क्लबसँग छलफल गरिरहेको बताइएको छ । मेसी साउदी अरेबियाका पर्यटन राजदूत पनि हुन् ।

यसैगरी कुनै समय रोनाल्डोसँगै रियल म्याड्रिडबाट खेलेका बेन्जेमा र मोड्रिचका प्रतिनिधिले पनि साउदी क्लबसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । वार्ता सकारात्मक भएमा आफ्नो ब्यवसायिक खेलजीवनको अन्त्यतिर बेन्जेमा र मोड्रिच पनि साउदीको ब्यवसायीक लिगमा सहभागी हुनेछन् ।

पाँच पटकका बालर डीओर विजेता रोनाल्डो अल नासरबाट व्यवसायिक लिग खेल्नछन् । उनी गत डिसेम्बरमा अल नासरमा आबद्ध भएका थिए । उनले क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् ।

प्रतिक्रिया