
काठमडौं, १८ जेठ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबी गर्दै ८ जनाविरूद्ध २०७६ असार ३० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा विशेष अदालत काठमाडौंले बीपी प्रतिष्ठानका पूर्वउपकुलपति दास, अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई दोषी ठहर गरेको हो ।
विशेष अदालत काठमाडौंका न्यायाधीशद्वय बदभद्र बाँस्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले दाससहित तीन जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतले प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकद्वय चेतन अग्रवाल र उमेश अग्रवाललाई भने सफाइ दिएको विशेष अदालतका उपरजिष्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
