
काठमाडौं, १८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका छन् । उनले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्नुपर्ने बताएका हुन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौं । यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौं ।’
मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै अझ धेरै बलियो बनाउने बताए । ‘यो सुन्दर क्षणको अझ बढी महत्त्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौं कि रामायण सर्किससँग सम्बन्धित परियोजनामा तीब्रता ल्याउनु पर्छ,’ उनले भने ।
संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री दाहालले पनि सीमा समस्या समाधानको विषयमा मोदीसँग छलफल भएको जानकारी दिए । प्रचण्डले सीमा समस्या द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि मोदीलाई अनुरोध गरेको बताए ।
