
काठमाडौं, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई मान्यता नदिन माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
रिटमा नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न रोक लगाउन माग गरिएको छ । वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार नागरिकतासम्बन्धी राष्ट्रिय नीति बनाउन र सोही नीतिका आधारमा नागरिकता ऐन र नागरिकता नियमावलीहरु परिमार्जनका लागि आदेश माग गरिएको छ ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सभामुख, प्रतिनिधिसभा, राष्ट्रियसभालगायतका निकायलाई विपक्षी बनाइएको छ ।
संघीय संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । उक्त विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।
