भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुग्यो
अखबार टुडे
प्रकाशित:
२०८०, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको सो मालवाहक रेलमा केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरिएको छ । बिहीबार आएको मालबाहक रेलमा आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री रहेका छन् ।

बिहीबार उद्घाटन भएपछि सो रेलमार्ग नियमित रुपमा सञ्चालन हुनेछ । बथनाहाबाट आईसापीसम्मको दूरी ८ किलोमिटर रहेको छ । बथनाहाबाट छुटेको कार्गो रेल १५ मिनेटमा आईसीपीसम्म आइपुग्छ । बुधबार परीक्षणका लागि आईसीपीसम्म कार्गो रेल आएको थियो ।

यसअघि २०७५ कात्तिक ८ गते रेल सञ्चालनको परीक्षण गरिएको थियो । तर नियमित सञ्चालनमा भने आएको थिएन् । भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेल सञ्चालन गर्ने परियोजना सन् २०११ मा सुरु भएको थियो । १८ किलोमिटर लामो रेलमार्गको मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन ।

अहिले बथनाहाबाट आईसीपीसम्ममात्रै रेलको लिक निर्माण भएको छ । बाँकी ८ किलोमिटरको कार्य भइरहेको रेल विभागले जनाएको छ । कटहरी क्षेत्रको २ किलोमिटर लिक निर्माण भने मुआब्जा विवादका कारण अगाडि बढ्न सकेको छैन ।

भारतीय पक्षको आर्थिक र प्राविधिक सहयोगमा सो रेल परियोजना सुरु भएको थियो । भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिका–१ महेशपुरसम्म रेल आउने परियोजनामा उल्लेख छ ।

प्रतिक्रिया