गर्मी अझै बढ्ने, तातो हावा चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन सुझाव
अखबार टुडे
प्रकाशित:
२०८०, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । चर्को घाम लागेसँगै अझै देशभर गर्मी बढ्ने अनुमान गरिएको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको हो ।

केही दिन यता चर्को घाम लागिरहेको छ भने देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । मौसमविद् रोजर लामिछानेका अनुसार अझै तीन दिन मौसम यस्तै रहने अनुमान रहेको छ ।

तापक्रम बढिरहेकाले तराईका जिल्लामा तातो हावा चल्ने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन् । तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान रहेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकुल असर पु¥याउन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने अर्का मौसमविद् संजिव अधिकारीले बताउछन् । घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न विज्ञको सुझाव छ ।

यस्तै, प्रशस्त मात्रामा पानी पिउन तथा पानी पाइने फलफूल खान, खेतबारीका काम बिहान बेलुका मात्रै गर्न विज्ञको सुझाव छ । गएको सोमवार र मंगलवार काठमाण्डौको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियसको हाराहारीमा थियो । हिजो ३२.२ डिग्री सेल्सियसमा पुगेको छ ।

तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा नाघेको छ । सिमराको अधिकतम तापक्रम ४१.२ डिग्री सेल्सियस र भैरहवाको ४०.९ डिग्री सेल्सियस पुगेको छ । यस्तै, नेपालगञ्ज, विराटनगर, धरान लगायत क्षेत्रको मौसम ४० डिग्री सेल्सियसको हाराहारीमा छ ।

प्रतिक्रिया