काठमाडौं, १७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औंठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको बताएका छन्। कलाकार जीवन थापा लगायतका ७० भन्दा बढी कलाकर्मीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आफ्नो फोटोमा सुनैसुन लगाइदिएर झूट फैलाएको बताए ।
ओलीले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर, एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो घटिया नियत होला ?’। जीवनमा सानैमा आमाले दिएको सुनको औँठी चार दिनजति र त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएको सुनाउँदै उनले बोकिनसक्नु गरी आफ्नो फोटोमा सुनैसुन लगाइ दिएर बदनियतपूर्वक झूट फैलाएको बताए ।
अध्यक्ष ओलीले नेपालमा छाडापन र विकृति बढ्दै गएको बताए । ‘हाम्रो देश विचित्रको स्थितिमा पुगेको छ । दुनियाँमा छाडापन हेर्नपर्छ भने यहीँ देशमा देखिन्छ । नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैन कि जस्तो लाग्छ । युट्युब खोलेर हेरिसक्नु छैन । खोल्यो भने कुनामा गएर हेर्नुपर्ने हुन्छ,’ अध्यक्ष ओलीले भने । उनले सभ्यताको सुरुवात भएको नेपाल धर्तीमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार भएको बताए ।
केही दिनअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा ब्रैठकमा पशुपतिनाथमा जलहरी चढाउँदा सुनको लगाउने भनेर पित्तल लाएर ओलीले सयौँ भ्रष्टचार गरको आरोप लगाएका थिए । जलहरी प्रकरणले सदन तातेपछि सामाजिक सञ्जालमा ओलीको तस्बिरमा सुनैसुन लगाएर ट्रोल बनाइएको थियो।
ओलीले त्यसैको जवाफ फर्काएका हुन्। यो आरोपमा एमालेले विरोध गर्दै संसद बैठक नै अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रष्टीकरण दिनुपरेको थियो। र, संसद्को रेकर्डबाटसमेत हटाइएको थियो।