
काठमाडौं, १६ जेठ । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार करोड रुपैयाँ बराबरको भ्रष्टचार मद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ रुपियाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।
उनको स्रोत नखुलेको रकम ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ देखिएको र उक्त रकम सार्वजनिक पदको दुरुपयोग गरेर आर्जन गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । २०४६ जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७९ सालसम्ममा ७ करोड २४ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
यादवले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको अख्तियारको भनाइ छ ।
