जापानका प्रधानमन्त्रीद्वारा आफ्नो छोरालाई निजी सचिवबाट बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०८०, १६ जेष्ठ

टोकियो, १६ जेठ (एजेन्सी) । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना छोरा शोतारो किशिदाले ‘अनुपयुक्त व्यवहार’ गरेको भन्दै निजी सचिवबाट बर्खास्त गरेको छ ।

प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन् ।

‘गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा अनुपयुक्त थियो, उनलाई पदमुक्त गर्ने निर्णय भएको छ,’ प्रधानमन्त्री किशिदाले पत्रकारमाझ भने । यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारी पनि उनले दिए ।

समाचार सार्वजनिक भएपछि ३२ वर्षीय छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काएका थिए । तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उनले पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

यसअघि पनि शोतारोले युरोप भ्रमणमा गएका बेला सरकारी सवारी साधन प्रयोग गरेर किनमेल गरेका विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री किशिदामाथि विपक्षीले तीक्ष्ण प्रहार गरेका थिए ।

प्रतिक्रिया