काठमाडौं, १६ जेठ । संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने निर्णय गरेको हो । सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन तथा नेपाल टिभीबाट प्रसारण गरिनेछ ।
समितिका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकमा कार्कीको व्यक्तिगत विवरण सांसदहरूलाई वितरण गरिएको छ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो भने सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सो को जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधान न्यायाधीशको रूपमा रहेका छन् ।