चेन्नईले जित्यो आईपीएल क्रिकेटको उपाधि, गिललाई सर्वोत्कृष्टसहित चार अवार्ड
अखबार टुडे
प्रकाशित:
२०८०, १६ जेष्ठ

काठमाडौं, १६ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बनेको हो ।

जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । बर्षाको कारण डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो ।

चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे । गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । सअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे । ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एक÷एक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।

कसले के अवार्ड जिते ?
गुजरात टाइटन्सका शुभमन गिलले सर्वाधिक चार अवार्ड जितेका छन् । गुजरातलाई फाइनलसम्म पुर्याउन सानदार प्रदर्शन गरेका गिलले मोष्ट भ्यालुएबल, सर्वाधिक रन बनाएवापत पाउने ओरेन्ज क्याप, ड्रिम गेम चेन्जर र सर्वाधिक चौका (रुपे वन द गो फोर सिजन) गरि कुल चार अवार्ड जितेका हुन् ।

गिलले हरेक अवार्डमा समान १० लाख भारु पाउनेछन् । गिलले १७ खेलमा ३ शतक र ४ अर्धशतकसहित कुल ८ सय ९० रनका साथ शीर्ष स्थानमा थिए । गिलले कुल ५ सय ६४ बल खेल्दा ८५ चौका र ३३ छक्का प्रहार गरेका थिए ।

यसतै, पर्पल क्याप मोहम्मद शामीले २८ विकेटका साथ जितेका छन् । त्यस्तै इमर्जिङ प्लेयर अवार्ड राजस्थान रोयल्सका यशस्वी जैसवालले जितेका छन् । सर्वाधिक छक्का र टाढा प्रहार गर्ने अवार्ड बेंगलोरका फाफ डु प्लेसिस, उत्कृष्ट स्ट्राइकरेट ग्लेन म्याक्सवेल, उत्कृष्ट क्याच राशिद खान र फेयर प्ले अवार्ड दिल्ली क्यापिटल्सले जितेको छ ।

प्रतिक्रिया