अर्थमन्त्री महतद्वारा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत जारी
अखबार टुडे
प्रकाशित:
२०८०, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री महतले आज प्रस्तुत गरिरहेको बजेट नेपालको ७६औं बजेट हो ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो । यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिएका थिए । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आएका छन् । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रमुख एवं पदाधिकारी पनि सहभागिता रहेको छ ।

नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले विसं २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गरेका थिए । उक्त बजेट रु पाँच करोड २५ लाख बराबरको थियो ।

संसद्बाट प्रस्तुत बजेट वक्तव्य नेपाल टेलिभिजन र रेडियो नेपालसहित विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । प्रस्तुत बजेटमाथि मन्त्रालयगत छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिएपछि अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया