रेशम चौधरीलाई आममाफी दिनु अदालतमाथि बलमिच्याइँ : गगन थापा
अखबार टुडे
प्रकाशित:
२०८०, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतारमा निर्णय गरेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।

महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने बताए ।

उनले भने, ‘अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ गर्यौँ । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अप्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’

उनले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए । सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न नहुने बताउँदै उनले राष्ट्रहित विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताए । उनले आजका युृवाहरुमा कांग्रेसप्रति निराशा हुनुको मुल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गरे । यस्ता गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने बताए ।

प्रतिक्रिया