टर्कीको राष्ट्रपतिमा एर्दोगान लगातार तेस्रो कार्यकालका लागि निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०८०, १५ जेष्ठ

काठमाडौं, १५ जेठ (एजेन्सी) । टर्कीको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी दल( रिपब्लिकन पिपुल्स पार्टी) का नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।

निर्वाचनमा एर्दोगानले ५२ प्रतिशतभन्दा बढी मत ल्याएर भने किलिचदारोग्लुले ४७.८६ प्रतिशत मत प्राप्त गरे । यो जीतसँगै एर्दोगान लगातार तेस्रो कार्यकालका लागि टर्कीमा राष्ट्रपति बनेका छन् ।

सन् २००३ मा टर्कीको प्रधानमन्त्री बने यता शक्तिमा रहेका एर्दोगान सन् २०१४ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । २० वर्षसम्म सत्तामा रहेका एर्डोगान फेरि ५ वर्षका लागि राष्ट्रपतिमा चयन हुनु भएको हो । टर्कीमा गत मे १४ तारिखमा भएको चुनावमा कसैले बहुमत ल्याउन नसकेपछी आइतबार दोश्रो चरणको मतदान भएको थियो ।

राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै देशबासीका नाममा सम्बोधन गर्दै एर्दोगानले देशमा व्याप्त मुद्रास्फीतिको समस्या समाधान मुख्य प्राथमिकतामा रहेको बताए । टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिए ।

उता निर्वाचनमा पाराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा ‘वास्तविक प्रजातन्त्र’ नआएसम्म लडाइँ जारी राख्ने बताएका छन् ।

एर्दोगानको पुनः निर्वाचनलाई अमेरिकासहित पश्चिमा शक्तिहरुका लागि धक्काको रुपमा विश्लेषण गरिएको छ । नाटो गठबन्धनमा रहेर पनि पश्चिमाहरुको निर्देशन नमान्ने एर्दोगानको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ट सम्बन्ध रहेको छ ।

प्रतिक्रिया