रिहा भएपछि रेशम चौधरीले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो’
अखबार टुडे
प्रकाशित:
२०८०, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी रिहा भएका छन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा गरेको छ । रेशम चौधरीले आफ्नो रिहाइ अकस्मात् र सुनियोजित नभएको बताएका छन् । उनले आफ्नो रिहाइलाई स्वाभाविक रूपमा लिए पनि यो निकै ढिला भएको टिप्पणी गरे ।

रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चौधरीले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ उनले टिकापुर घटना दुर्भाग्यपूर्ण भएको बताउँदै सो घटना टिकापुरवासीले चाहेर घटेको घटना नभएको स्पष्ट पारे ।

उनले टिकापुर घटनाबारे धेरै मानिसहरू गुमराहमा रहेको बताउँदै यो रहस्यमय घटना भएको बताए । उनले यस घटनामा पूर्ण रुपमा थारुहरूको संलग्नता नरहेको र यसका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने माग गरे । यस घटनाको निराकरणका लागि सरकार र राजनीतिक दलहरूले ध्यान नदिएको गुनासो गरे ।

त्यसपछि उनी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग उनी मन्त्री क्वार्टर पुगेका थिए । त्यसपछि माइतीघर पुगेर आफ्ना कार्यकर्ताहरूसँग खुसीयाली मनाएका छन् । रेशम आजै कैलाली जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया