रेशम चौधरीलाई सजाय माफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट पुग्यो
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ

काठमाडौं, १४ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषदको सिफारिस विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले उक्त सिफारिस खारेज गर्न माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमाथि अध्ययन भइरहेको जानकारी दिए ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई माफी दिनेछन्।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो । सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।

प्रतिक्रिया