विराटनगर तानावग्रस्त, ३० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ

विराटनगर, १४ जेष्ठ । कोशी प्रदेशको विराटनगर तनावग्रस्त बनेको छ । ‘कोशी’ नाम खारेज गर्न माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले ३० जनाभन्दा बढी आन्दोनकारीलाई पक्राउ गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक बस्ने भएपछि पहिचान पक्षधरले आइतबार बिहानैदेखि प्रदेशसभा भवन घेराउ गरेका छन् । भने सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् ।

आइतबार पौने १ बजेदेखि प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच देवकोटा चोकमा झडप भएको हो । झडपमा परी एक सशस्त्र प्रहरी जवानको टाउको फुटेको छ । आन्दोलनकारीतर्फ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको एक पहिचान पक्षधर नेताले बताए । उनका अनुसार विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजे नै पुगेका थिए ।

गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया