सरकारले चाहेर पनि कोशी प्रदेशको नाम परिवर्तन हुँदैन : एमाले
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ

विराटनगर, १४ जेठ । नेकपा एमालेले कोशी प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने बताएको छ । कोशी प्रदेश संसदीय दलको बैठकपछि पत्रकारहरूसँग बोल्दै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश नामाकरणको अन्य विकल्प नरहेको बताएका हुन् ।

उनले भने, ‘प्रदेश सभाले नाम राखेको हो । सरकारले चाहेर यो परिवर्तन हुँदैन । त्यसैले यसको विकल्प छैन भन्नेमा दलको बैठक एक देखिएको छ ।’ ‘प्रदेशसभाले संवैधानिक र कानुनी प्रक्रिया अवलम्बन गरेर गरेको विषयमा हेरफेर वा परिर्वतन संवैधानिक र कानुनी हिसाबले मात्र सम्भव हुने उनले बताए ।

भण्डारीले आन्दोलन गर्न पाइने तर हिंसात्मक हुन नपाइने बताए। प्रदेशसभाको बजेट अधिवेशन आज देखि सुरू हुने भएपछि पहिचान पक्षधरले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेको थियो । आन्दोलन चर्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगर आसपासमा निषेधाज्ञा जारी गरिएको छ।

तर, तर, निषेधित क्षेत्र अवज्ञा गरेर युवाहरू प्रदर्शनमा उत्रिन थालेपछि प्रहरी र प्रदर्शनकारीबीच तनावग्रस्त स्थिति बनेको छ । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

२०७९ फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिलगायत पहिचान पक्षधर आन्दोलनरत छन् ।

प्रतिक्रिया